ठूलो बालाई चिठी

  • प्रकाशित मिति : January 10, 2022
  • सुरेन्द्र चौहान

ठूलो बा ढाेग गरेँ !

तपाईं त काठमाडौं सहरमा बस्नुहुन्छ,
त्यहाँ त कति रमाइलो हुन्छ होला है !
सहरमा त रात पनि दिन जस्तै हुन्छ रे !

म त दुर्गम गाउँको एउटा कुनामा बस्छु ,
रात दिन नभनी खेतीपातीको काम गर्छु ।
त्यति गर्दा पनि खान लाउन नै पुग्दैन,
डाँडाका घाम जस्ता बुढा बा,आमा छन,
हिजोआज दुवै जना रोगाएर थलिएका छन ।

तपाईहरु त कहिले बालुवाटार कहिले,
सिंहदरवार चिल्ला गाडीमा हुइकिनु हुन्छ ।
गाउँको उबेलाको दुःख त बिर्सिनु भयो होला,
अब त अन्दाज सम्म पनि हुन्न होला है ठुलाे बा ?

उहिल्यै गाउँमा हुर्के, बढेका कुरा पनि ,
सबै बिर्सिए होला है ठुलो बा !
मेरा बा अहिले पनि तपाईहरुका उबेलाका,
उटपटय्याङ सुनाएर खुब हँसाउनु हुन्छ !

हामी तपाईहरु जस्तो धेरै कुरा त जान्दैनौँ,
तर यहाँ को हावा पानी र माटो राम्ररी चिनेका छौँ।
आकाश हेरेर नै मौसमको भविष्यवाणी सहजै गर्न सक्छौँ,
घाम हेरेरै समय कति भयो भनेर अनुमान लगाउछौँ ।
हामीसँग ईर्ष्या, लोभ जस्ता खराब भावना छैन,
हामी त यहाँ को हावा पानी जस्तै निर्मल, स्वच्छ र शुदध छौँ।

पहिले पहिले त ठुलो बा गाउँ आउनुहुन्थ्यो,
ठुलो बाले भाषण गरेको मलाई खुब मनपर्थ्यो ।
कुरा नबुझिए पनि अरूसँगै ताली पट्काउदै सुन्थेँ,
अर्का ठुलो बा पनि खुब मच्चिएर भाषण गर्नुहुन्थ्यो ।
उखान टुक्का हालेर भाषण गर्दा असाध्य रमाइलो लाग्थ्यो,
तपाईहरु गाउँ नआएको पनि एक जुग भएछ !

आज पनि गाउँमा नजिकै एउटा विद्यालय सम्म छैन ,
छोराछोरीहरु नाङगाे खुट्टा हिडेर टाढा पढ्न जान्छन ।
विद्यालय जाने बाटोमा ठूला ठूला खोला छन,
वर्खा याममा त छोराछोरीलाई खोलाले,
बगाउला कि भन्ने असाध्य चिन्ता लाग्छ ।
हामी त यहाँ दु:खै दुःखमा बाँचेका छौँ ठुलो बा !

तपाईं पो जहाँ जादा पनि हेलिकप्टर चढेर जानुहुन्छ ,
सुन्दैछु,अहिले त बालुवाटारमै हेलिप्याड बनाछ रे !
ढोकाबाटै चढ्दा र ओर्लदा कति मजा आउदो हो !
गाडी पनि फेरी फेरी चढ्नु हुन्छ रे हो ठुलो बा ?

तपाईहरुले त सगरमाथाको चुचुरो नै छुनुभयो,
मलाई तपाईहरुको सफलता देखेर खुसी लाग्छ !
हाम्रो त आफ्नो भन्नु केहि छैन ठुलो बा,
त्यही एक हलको पाखो बारी र लड्न लागेको झुप्रो छ ।
कहिले त भोकभोकै मरिन्छ कि भन्ने डर लागिरहन्छ !

पुषको जाडोमा पातला एकसरो लुगा लगाउछौँ,
बुढा बा, आमा र केटाकेटी जाडोले थुरथुरी काप्छन !
मेरो त भित्र मन नै कुडिन्छ ठुलो बा !
बिहान बेलुका लाई खानेकुरो जोहो गर्न सकिदैन,
महँगीमा न्यानो लुगा किन्न त टाढाको कुरा भो ।
भुन्टी कि आमा गौथली गुनिउँ चोलो किनिदे भन्थी,
दुई वर्ष भएछ अहिलेसम्म किन्दिन सकेको छैन ।
अब त लाज ढाक्न पनि नसकिने भो ठुलो बा !

अरुको बनीबुतो गरेरै अहिलेसम्म बाचेका छौँ,
सबैसँग मिलिजुली काम गर्दा रमाइलो लाग्छ !
तर तपाईहरु आफ्नै दौँतरीसँग खुब रिसारिस गर्नुहुदोरहेछ ।
ठुलो हुदै जाँदा बुद्धि पनि नाशिदै जान्छ हो ठुलो बा ?
मलाई त त्यस्तै लाग्यो नि !

महँगी, गरिबी र अभाव त पहिलै पनि थियो, अब त कोरोनाका नयाँ नयाँ रुप पनि आएका छन भन्छ्न ।
खै यस्तै हो भने बाँचिदैन होला ठुलो बा !
अनि अब गाउँ चाहिँ कहिले आउने ठुलो बा ???