नुवाकोटमा कांग्रेस जिल्ला अधिवेशनको सरगर्मी : युवाको तर्फबाट नेतृत्वका लागि दाहाल र लामालाई दबाब !

  • प्रकाशित मिति : November 25, 2021
  • echautari.com

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका युवा नेता जयराम दाहाल पार्टीको १४औँ महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

बुधबार सार्वजनिक नतिजा अनुसार नुवाकोट क्षेत्र नं २ बाट ३७० मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका दाहालले जगतबहादुर लामा समूहबाट खुला तर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । सोमबार भएको निर्वाचनमा खुलातर्फबाट उनले सातौँ नम्बरमा विजयी भएका हुन् ।

महाधिवेशनमा निर्वाचित भएसँगै नेता दाहालले आफूलाई मत दिने क्षेत्रीय प्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेका छन् । साथै आफूलाई क्षेत्रीय प्रतिनिनिधिहरुले दिएको विश्वासलाई ध्यानमा राखेर नेतृत्व चयनमा मतदान गर्ने बताए ।

क्षेत्रीय अधिवेशन सम्पन्न भएसँगै जिल्लामा जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । सोही क्रममा उमेरले ४० भन्दा तल उमेरकालाई नेतृत्वमा ल्याउन युवाहरुले दवाव दिएका छन् । जसको लागि दाहाल र दाहालसँगै तामाङको समूहबाट महाधिवेशन प्रतिनिधिमा ३८५ मतसहित निर्वाचित भएका दीपक लामालाई नेतृत्वमा आउन युवाहरुको दवाव परेको छ ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै युवाहरुको तर्फबाट दाहाल र लामालाई जिल्ला सभापतिको लागि तयारी गर्न युवाहरुको दवाव बढेको हो ।

जिल्लामा लामो समयदेखि परिवारवाद हाबी भएकोले पार्टीमा अब नयाँ नेतृत्वका लागि दुई युवाहरुले नेतृत्वका लागि तयारी रहन युवाहरुको साथ रहेको एक महाधिवेशन प्रतिनिधिले बताए । ‘जिल्लामा लामो समयदेखि परिवारवाद हाबी भएको छ । जसको कारण पार्टी घरबाट चलेको छ । राजा र राणाप्रवृती देखिएका कारण अब हामीहरु दाहाल र लामामध्ये एकलाई अघि सारेर नेतृत्वमा ल्याएर जिल्लामा परिवारबाद अन्त्य गर्ने हाम्रो अभियान छ’, नाम नबताउने सर्तमा ती नेताले भने ।
आफू विगत २ दशकदेखि भातृ संगठन र पार्टीमा निरन्तर रहेकाले आफू या ४० मुनीको जो कोही आए पनि त्यसै अनुसार अघि बढ्ने दाहालको दाबी छ । निरन्तर जिल्लाका सबै ठाउँमा पुगिरहेकाले आफूले महाधिवेशन केन्द्रीत मात्रै भएर आफू नलागेको बताए ।

‘हामीहरु महाधिवेशनका लागि मात्रै तयारी गर्छौँ । तर म आफू स्वयं निरन्तर पार्टीको कामकै शिलशिलामा मतदाता कहाँ पुगिरहेकाले उहाँहरुको साथ मैले पाए । जिल्लाको नेतृत्वको लागि पनि युवाहरुको दवाव बढिरहेको छ । समयको माग अनुसार अघि बढ्छु’, नेता दाहालले भने ।