जयराम दाहाल : कल्याणीको एकाइ अध्यक्षदेखि महाधिवेशन प्रतिनिधिको उम्मेदवारीसम्म

  • प्रकाशित मिति : November 21, 2021
  • echautari.com

काठमाडौं । यस पटकको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा युवा पुस्ताको अग्रसरता बढेको छ ।

नेपाली राजनीतिमा युवाहरुको हस्तक्षेप गर्नुपर्छ भन्ने लामो समयदेखिको बहस नेपाली कांग्रेसको १४औँ महाधिवेशन मार्फत उजागर भएको देखिन्छ । कांग्रेसको वडा, गाउँ, नगर, क्षेत्र (प्रदेश) युवा नेतृत्व आइसकेको छ । भने प्रतिनिधि सभाअन्तर्गतको क्षेत्रमा समेत युवाहरुले आफूलाई अगाडी सारेका छन् ।

सोही क्रममा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य जयराम दाहालले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेस नुवाकोटका युवा नेता समेत रहेका नेता दाहालले नुवाकोट क्षेत्र नं २ को प्रदेश सभा ‘क’ बाट प्रतिष्पर्धा गर्न लागेका हुन् । लामा(महत समूहका उम्मेदवार जगतबहादुर तामाङको प्यानलबाट आफूले उम्मेदवारी घोषणा गरेको बताए ।

राजनीतिमा युवाहरुले हस्तक्षेप गर्ने भनेर मात्र नहुने बताउँदै उपयुक्त समयमा उपयुक्त समूह बनाएर अघि बढे मात्र युवाहरु नेतृत्वमा आउने दाहालको भनाइ रहेको छ । आफू निरन्तर जनताको सुखदुखमा रहेको साथ नै जितको मुख्य आधार भएको दाहाल बताउँछन् ।

के छ दाहालको राजीतिक इतिहास ?

सामान्य किसान परिवारमा जन्मिएका दाहाल २०५५ सालबाट नेविसंघमा आवद्ध भए । तत्कालिन जिलिङ गाविस (हाल बेलकोटगढी नगरपालिका(८) मा रहेको कल्याणी देवी माध्यामिक (हाल उमावि) मा एकाइ अध्यक्ष चुनिएका थिए । सरल र मिजासिलो स्वभावका दाहाल त्यसयता संगठनका विभिन्न तह र तप्काको नेतृत्व समेत गरिसकेका छन् । सोही क्रममा २०५७ सालमा नुवाकोट क्षेत्र नं १ को नेविसंघको क्षेत्रीय सदस्य बनेका दाहाल २०६१ सालमा क्षेत्रीय सभापति बनेका थिए ।

कर्मथलो काठमाडौं बनाउँदै आएका दाहाल प्रदर्शनी मार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा अध्ययन गर्दै गर्दा २०६२-६३ को आन्दोलनमा समेत सहभागी भए । अनेरास्ववियुको लालकिल्ला मानिने आरआर क्याम्पसमा नेपाल विद्यार्थी संघलाई थप जुझारु र सक्रिय बनाएका दाहालले आरआर क्याम्पसको कार्यबाहक सभापति समेत बनेका थिए ।

त्यसैगरी २०७३ सालमा सम्पन्न नेविसंघको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । सो क्रममा प्रदेश नं ३ (बागतमी) प्रदेशबाट पपुलर मत ल्याएर विजयी भएका थिए ।
मानविकीमा स्नातकोत्तरसम्म गरेका दाहालले कानुनमा स्नातक सम्मको अध्ययन गरेका छन् ।

मिठो भाषण कला, सरल स्वभाव र सबैसँग मिल्न सक्ने क्षमता दाहालको विशेषता हो । जिल्लादेखि केन्द्रसम्मका गुटका नेताहरुसँग राम्रो सम्बन्ध स्थापना गरेका दाहाल नेविसंघमा निरन्तर अधिवेशन हुन नसकेको कारण आफू जस्ता युवाहरु नेतृत्व लिनबाट बञ्चित भएको गुनासो गर्छन् ।

अन्य संगठनमा सँगै राजनीति सुरु गरेका साथीहरु पार्टी राजनीतिमा लागिसक्दा पनि आफूहरु नेविसंघमा नै खुम्चिपरेका दाहालको भनाइ रहेको छ ।

देशभरबाट युवाहरु अग्रसर भएका कारण आगामी पुस्तालाई राजनीतिमा सक्रिय बनाउन १४ औँ महाधिवशेनले भूमिका खेल्ने समेत दाहालको दाबी रहेको छ ।