हलेसीका नगर प्रवक्ता राउतले गरे नगर सभापतिमा उम्मेदवारी घोषणा

  • प्रकाशित मिति : September 11, 2021
  • echautari.com

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रवक्ता रमेश राउतले नेपाली कांग्रेसको नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस खोटाङको दोस्रो नगर अधिवेशनअन्तर्गत ९ असोजमा हुने कांग्रेसको नगर अधिवेशनका लागि राउतले उम्मेद्वारी दिने घोषणा गरेका हुन्।

२०६२/०६३ को जनआन्दोलनमा सहभागी भई पाटन संयुक्त क्याम्पसबाट औपचारिक रुपमा राजीनीतिक यात्रा सुरु गरेका राउतले नेविसंघ इकाई सदस्य, सहसचिव र सचिवसम्मको पद सम्हालेका थिए।

हाल हतुनपा-६ मंगलटारका निर्वाचित वडाध्यक्ष राउत क्षेत्र नं. १ का क्षेत्रीय सदस्य हुन् । उनी पेशाले अधिवक्ता पनि हुन्।

शनिबार सभापतिका उम्मेद्वारी घोषणा गरेका राउतले आफ्नो टिम पनि घोषणा गरेका छन्। उपसभापतिमा नेविसंघ दिक्तेल क्याम्पस हुँदै स्ववियु सदस्यका उम्मेदवार, तत्कालीन डिकुवा गाविसको १५ वर्षे लामो सहायक सचिवको अनुभव बटुलेका तथा नेपाली कांग्रेसमा लामो समययता क्रियाशील भई राजनीति गरिरहेका दिनेश राई र कांग्रेसका क्रियाशील नेता तथा समाजसेवी राजापानीका धनबहादुर खड्का रहेको राउतले जानकारी दिए।

सचिवमा शिक्षण पेशामा एक दशकभन्दा बढी जीवन बिताएर कांग्रेसमा क्रियाशील भई निरन्तर राजनीति गरिरहेका अर्खौलेका केशव श्रेष्ठ र लामो समयदेखि कांग्रेसमा क्रियाशील नेता तथा यातायात व्यवसायी संघ खोटाङका वरिष्ठ उपाध्यक्ष दुर्छिमका फडिन्द्र राई छन्।

राउतको टिमको सहसचिवमा नेपाल तरुण दल हलेसी नगर समिति उपाध्यक्ष धितुङका लम्बर राई र दुई पटक क्षेत्रीय प्रतिनिधि भएका तथा तत्कालीन सल्ले गाबिसमा लामो समय सामाजिक परिचालिकाको भूमिका निर्वाह गरेकी जुना राई छन्।

यसअघि, २४ भदौमा कांग्रेस चक्रकुमार राईले कांग्रेसको हलेसी नगर सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन्।