अहिलेसम्मकै उच्च एल्टीटिउटमा हुम्लामा पहिलो पटक फुटबल प्रशिक्षण सुरु

  • प्रकाशित मिति : August 2, 2021
  • echautari.com

काठमाडौं । हिमाली जिल्ला हुम्लामा फुटबल प्रशिक्षण सुरु भएको छ । सम्भावना भएका साना र ठूला खेलाडीको लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

सिमकोटस्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनाका बिहीबारबाट ६ देखि १३ र १३ वर्षदेखि माथिका उमेर समूह बनाएर प्रशिक्षण सुरु भएको एकेडेमीका अध्यक्ष विष्णु राउतले जानकारी दिए ।

दैनिक दुई घण्टासम्म सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रम बिहान र बेलुका गरी दुई चरणमा सुरु गरिएको छ । प्रशिक्षणको पहिलो दिन दुवै समूहका लागि तीस जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रशिक्षणका लागि सानो उमेरका खेलाडीको लागि पूर्णरुपमा निःशुल्क गरिएको छ भने १८ वर्षमाथिका लागि भर्नाशुल्क लिने गरिएको छ । यो प्रशिक्षण कार्यक्रम महिला खेलाडीको लागि पनि हुने अध्यक्ष राउतले जानकारी दिए ।

खेल सामग्रीको व्यवस्था एकेडेमीले गरेको छ । फुटबल खेलाडी समेत रहेका एकेडेमीका राउतले फुटबलको विकासका लागि प्रशिक्षण कार्यक्रम सुरु गरिएको बताए । प्रशिक्षण कार्यक्रम दुई हप्तासम्म जारी रहनेछ ।

यसका लागि प्रशिक्षण दिन फिफाबाट लाइसेन्सप्राप्त प्रशिक्षक मदन बुढ्थापा हुम्ला आएका छन् ।
प्रशिक्षण दुई हजार ९१५० मिटर उचाईमा प्रशिक्षण सुरु भएको छ । उक्त प्रशिक्षण अहिलेसम्मकै उच्च एल्टीटिउटमा भएको अध्यक्ष राउतलाई उद्धृत गर्दै स्थानीय बलराज हमालले बताए ।