युरो कप : फ्रान्स पनि बाहिरियो, स्विट्जरल्याण्ड र स्पेन अन्तिम आठमा

  • प्रकाशित मिति : June 29, 2021
  • echautari.com

काठमाडौं । विश्व फुटबलमा शक्तिशाली मानिएको फ्रान्स पनि युरो कपबाट बाहिरिएको छ । साविक बिजेता पोर्चुगाल बाहिरिएको २४ घण्टा नपुग्दै अर्को शक्तिशाली टिम फ्रान्स स्विट्जरल्यान्डसंग स्तव्द हुंदै प्रतियोगिताबाट बाहिरिएको हो ।

फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड युरो २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार विहान सम्पन्न खेलको पेनाल्टी सुटआउटमा फ्रान्सका केलियन एमबाप्पेको प्रहारलाई स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले विफल पारिदिए पछि फ्रान्स बाहिरिएको हो ।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । १५ औं मिनेटमा सेफेरोभिकले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता कायम गरेपनि स्विट्जरल्यान्ड बिरुद्ध फ्रान्सले दोस्रो हाफका १८ मिनेट भित्रमा तीन गोल गर्दैं खेल ३–१ गेलको अवस्थामा ल्याएको थियो ।

खेलको ५७ र ५९ मिनेटमा करिम बेन्जिमाले र ७५ मिनेटमा पाउल पोग्बाले फ्रान्सका लागि गोल गरेका थिए । स्विट्जरल्यान्डका सेफोरोभिकले ८१ मिनेटमा र खेल सकिन एक मिनट अघि गार्भ्रानोभिकले गोल गरेपछि निर्धारित समयको खेल बराबरीमा सकिएको थियो ।

त्यसपछि थपिएको ३० मिनेटमा कुनै गोल भएन र खेल पेनाल्टी सुटआउटमा पुग्यो । सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डले स्पेनको सामना गर्नुपर्नेछ ।

त्यसअघि सम्पन्न खेलमा स्पेनले क्रोएसियालाई ५–३ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि थप गरिएको ३० मिनटमा स्पेनका लागि अल्भारो मोराटा र माइकल ओयर्जाबालले गोल गर्दै स्पेनलाई विजयी बनाएका थिए ।

मोराटाले खेलको १०० औं र ओयर्जाबाजले १०३ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको २० मिनेटमा स्पेनका गोन्जालेजले आत्मघाती गोल गर्दा क्रोएसियाले अग्रता लिएको थियो । ३८ मिनेटमा स्पेनका साराबियाले बराबरी गोल फर्काएपछि पहिलो हाफको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

५७ मिनेटमा सीजर अज्पीलिक्वेतालले र ७६ मिनेटमा फेरान टोरेशले स्पेनका लागि गोल गर्दा खेल ३–१ को अवस्थामा पुगेको थियो । क्रोएसियाका ओर्सिकले ८५ र पासालिकले इन्जुरी टाइममा गोल गरेपछि निर्धारित समयको खेल ३–३ गोलको बरावरीमा सकिएको थियो ।