कति रोएको होला ती आमाहरूको मन !

  • प्रकाशित मिति : June 12, 2021
  • बबिन आचार्य

कति आमाहरूको काख रित्तिएको छ
कति रोएको होला ती आमाहरूको मन
कति श्रीमतिहरूको सिन्दुर पुछिएको छ
ज्यूँदै मरेतुल्य छ उनीहरूको जीवन 
कति छोराछोरीहरु टुहुरो भएका छन्

बेघर, बेसाहारा छटपटाइरहेका छन् 
मृत शरिर समेत देख्न नपाई गुमाउनुपर्दा कसैलाई
चिच्याइ चिच्याइ पागलझैं कति कराइरहेका छन् 

विश्वलाई तर्साएको छ यसले ,
कोही यही रोगले मरि रहेका छन् 
खुशी खोस्दै छ यसले सबैको,
कोही यहाँ भोकले मरिरहेका छन् 

न त उमेर थाहा छ यसलाई,
न त धर्म र जात 
भरिईरहेका छन् छेक्न नसक्ने गरी,
अस्पतालहरु र घाट 

धनी गरिब वृद्ध बालक
सबलाई यसले मारिरहेको छ 
प्रत्येक देश र विश्व अर्थतन्त्रमा
ठूलो असर पारिरहेको छ 

भेटिदैछन् अनेक प्रकारको यसको
पारिरहेको छ झन् झन् असर 
सामान्य जीवन पाउने आशा छ
छैन कसैलाई मर्ने रहर 

खबर गरेर आउँदैन यो,
तसर्थ यो आएको देख्न सकिँदैन
सारा खुशी लुटिरहेको छ यसले,
सजिलै यसलाई छेक्न सकिँदैन 

त्यसैले हामीले गर्न जरुरी छ ,
ख्याल आफ्नो अनि परिवारको 
त्यसैले हामीले मान्न जरुरी छ ,
आग्रह र नियम सरकारको 

संक्रमितको जीवन बचाउन,
अग्रपंतिमा उनीहरू लडिरहँदा 
आफ्नो जिबनको पर्वाह नगरी
दिनरात उनीहरुको खटिरहँदा 

हामीले पनि बुझ्न पर्छ,
के हो हाम्रो जिम्मेवारी ?
सामाजिक दूरी कायम गरी,
घरमा बसौ ख्याल गरी 

आफ्नो र परिवारको हितका लागि,
हामी घरमा बसि दिउँन 
समाज र देशको हितका लागि,
नियम पालन गरि दिउँन,

सर्वश्रेष्ठ प्राणी मानव हामी
अलिकति संवेदनशील बनि दिउँन 
सर्ने र सार्ने माध्यम हामी नै हो
बुझ्ने प्रयास गरि दिउँन 

जीवन बाँचे भोलि फेरि
मस्ती मज्जा अझै हुन्छ 
चाडपर्व भेटघाट अनि यात्रा,
साथीभाई र रमाइलो सबै हुन्छ 

देश र देशका जनता बचाउन
निषेधज्ञा सरकारको मजबुरी छ
सबै मिलेर यो रोगसँग लड्न,
सामाजिक दूरी जरुरी छ 

कसैले कसैलाई गुमाउन नपरोस्,
कसैको खुशी नलुटियोस् 
फेरि सबै सामान्य बनोस्
संसार दुखी नदेखियोस् 

धैर्यता र मनोबलको खाँचो छ,
यो अवस्था गर्न पार 
अत्यावश्यक छ अहिले अब,
बन्न हामी जिम्मेवार 

साँच्चै यसलाई जित्ने भए,
हुन्न खेलाची यस्तो पाराले 
संयम र धैर्य भई,
साथ दिउँ अब साराले

जुटौँ सबै घरमै बसी
यो रोगसँग मुक्ति पाउन 
एकजुट भई निसंकोच
विजयको गीत गाउन ।