राष्ट्रपति भण्डारीले गरिन् मेलम्ची खानेपानी वितरणको उद्घाटन

  • प्रकाशित मिति : April 2, 2021
  • echautari.com

काठमाडौं, चैत २१ । राष्ट्रिपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन् ।
शुक्रबार भृकुटीभण्डपमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले ढुंगेधाराको टुटी खोलेर खानेपानी वितरण कार्यको समुद्घाटन गरेकी हुन् ।
करिब २७ वर्षपहिले सन्त नेता कृष्णप्रसाद भट्टराईले देखेको र काठमाडौँवासीको बहुप्रतीक्षित सपना पूरा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, उच्चपदस्त कर्मचारीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
यही चैत १५ गतेदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्न थालिएको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आज (शुक्रबार) बिहान ५ बजेबाट बालाजु पोखरीबाट समेत पानी वितरण थालेको छ।
यसअघि पहिलो चरणमा काठमाडौँका चावहिल, महांकाल, मीनभवन, अनामनगर र खुमलटार लगायतका स्थानमा मेलम्चीको पानी वितरण गरिएको थियो।